-->
सरकार ढाल्ने खेलमा लागेको भन्दै राजदूत उपाध्यायलाई फिर्ता बोलाइयो

Deepkumar-Upaddhaya
काठमाडौं, २४ वैशाख । सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको कोटाबाट भारतका लागि नेपाली राजदूत बनेका उपाध्यायलाई सरकार ढाल्ने भारतीय खेलमा साथ दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा मन्त्रिपरिषद बैठकले फिर्ता निर्णय गरेको पराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार राजदूत उपाध्याय दुई दिनअघि ओली सरकार परिवर्तन चर्चा भइरहँदा काठमाडौं आएर सक्रिय भएका थिए ।
पूर्वमन्त्री समेत रहेका उपाध्यायलाई डेढ वर्षअघि सुशील कोइराला नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूत बनाएर दिल्ली पठाएको थियो ।
सरकारविरुद्ध गतिविधि गरेको प्रमाणित भएकाले उनलाई फिर्ता बोलाउने निर्णय गरिएको मन्त्रिपरिषद बैठकमा सहभागी एमालेका एक मन्त्रीले जानकारी दिए । उनले भने- ‘पहिला राजीनामा माग्यौ । तर, उनले जे राम्रो लाग्छ त्यही गर राजीनामा दिन्न भने । त्यसलगत्तै फिर्ता बोलाउने निर्णयमा पुग्यौ ।’
यस्ता छन् उपाध्यायमाथिका आरोप
– सरकार परिवर्तन गर्न खुलेरै लाग्नु ।
– नेपाल आउँदा परराष्ट्रलाई जानकारी नगराउनु ।
– भारतीय राजदूत रञ्जीत रेसँग मधेसका जिल्ला भ्रमण गरेर सरकारविरोधी गतिविधि बढाउनु ।
– राष्ट्रपति विद्यादेवी भण्डारीको एक सातापछि हुने भ्रमण र प्रधानमन्त्री केपी शर्मा ओलीको गत फागुनमा भएको भ्रमणमा असहयोग गर्नु । dainiknepal.बाट



,